सोमबार १२, साउन २०७७ ०८:४१
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा पुनः नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।
त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिवमा सिलवाल नियुक्त भएका हुन् । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाललाइ सदस्य सचिव नियुक्त गरेकेाे हाे ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।
सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त भएका थिए भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उनी पदमुक्त भएका थिए।
प्रतिकृया दिनुहोस