२०८२ माघ ०८ गते बुधबार | 21 January, 2026

बैतडीमा सभापति चन्दको उम्मेदवारीले कांग्रेस कार्यकर्ता उत्साहित

- विशेष खबर सोमबार ०६, माघ २०८२ १०:२६

बैतडीमा सभापति चन्दको उम्मेदवारीले कांग्रेस कार्यकर्ता उत्साहित

बैतडी । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । 

कांग्रेस जिल्ला सभापति रहेका चन्द बैतडीबाट उम्मेदवारी तय भएका हुन्। उनी टिकट लिएर सोमबार जिल्ला पुगेका छन् । 

पूर्वशिक्षक समेत रहेका चन्द संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार हुन लागेका हुन् । 

शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए ।

नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुँदादेखि उनी जिल्लाको राजनीतिमा प्रभाव राख्दै आएका छन् । शिक्षक संघको नेतृत्वमा रहँदा गाउँगाउँसम्म प्रभाव बढाएका चन्दले पछिल्लो समय नेपाली क्रिकेटको सफलताको कारण झन् बढी लोकप्रिय भएका छन् ।

चन्दको उम्मेदवार तय भएपछि कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । गत निर्वाचन माओवादीसितको गठबन्धनको कारण हसिँया हथौडमा भोट हालेका कांग्रेस कार्यकर्ता प्रभावशाली नेता उम्मेदवार बन्दा उत्साहित देखिएका छन् ।  

गत महिना कांग्रेसले जिल्लाबाट उम्मेदवार सिफारिसको मतविभाजनमा चन्दले शतप्रतिशत समर्थन पाएका थिए । 

यसपाली बैतडीमा एमालेबाट लगातार तीन पटक निर्वाचन जित्दै आएका पूर्वमन्त्री दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वजिविस सभापति तथा एमाले बैतडीका संस्थापक रहेका परमानन्द भट्ट, रास्वपाबाट गत निर्वाचनमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उठेका हरिमोहन भण्डारीलगायतले उम्मेदवारी दिने तय भएको छ । 


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस