२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

दार्चुलाका प्रिन्स ब्याडमिन्टनमा विश्वकै सातौँ उत्कृष्ट खेलाडी

बुधबार २८, फागुन २०७६ १२:२०

दार्चुलाका प्रिन्स ब्याडमिन्टनमा विश्वकै सातौँ उत्कृष्ट खेलाडी

काठमाडौँ– ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उकृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो ।

हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेशनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनको बरियतामा उल्लेख्य सुधार आएको हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अङ्क जोडेका छन् । प्रिन्सले हालै सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार व्योहोरेका थिए ।  

यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व बरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।

दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आवद्ध छैनन् । प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ ।

विश्व जुनियरतर्फको बरियताको शीर्षस्थानमा फ्रान्सका क्रिस्टो पोपोभ,  दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेशियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौ र फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा छन् ।


#ब्याडमिन्टन

प्रतिकृया दिनुहोस