२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

कृष्ण जन्माष्टमीमा मन्त्री ढकालकाे शुभकामनाः सरकारकाे आलोचना गर्नेहरुको मति सप्रियोस्

- विशेष खबर मङ्गलबार २७, साउन २०७७ ०३:२०

कृष्ण जन्माष्टमीमा मन्त्री ढकालकाे  शुभकामनाः सरकारकाे आलोचना गर्नेहरुको मति सप्रियोस्
फाइल तस्बिर ।

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन् । पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा राम्रो काम गरे पनि आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् । ‘आजको यो कृष्णाष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन्,’ मन्त्री ढकालले भने ।

महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै उनले सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत नेताहरुलाई उनको आग्रह थियो । ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् ।

म्यान्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिँदैन,’ मन्त्री ढकालले भने, ‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।’

उनले महामारीविरुद्ध लागेको सरकारविरुद्ध अनेक नाममा विरोध भइरहेको बताए । ‘एक जमना थियो, पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । त्यसको अभाव छैन भनेपछि त्यसको गीत बजेन, पीसीआर परीक्षणको गीत आयो’ उनले भने, ‘अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् ।’ यसको व्यवहारबाट जवाफ दिने उनको दाबी गरे ।

कोरोना संक्रमण समुदाय स्तरमा देखिएपनि स्थिति सरकारको नियन्त्रणमै रहेको उनले बताए । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको स्वास्थ्यमन्त्री ढकालले दाबी गरेका छन् ।


#स्वास्थ्य तथा जनसंख्या मन्त्री

प्रतिकृया दिनुहोस