२०८२ पुष १३ गते आइतबार | 28 December, 2025

आगामी प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाख मतदाता

- विशेष खबर शनिबार १२, पुष २०८२ ०९:४७

आगामी प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाख मतदाता

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता संख्या सार्वजनिक गरेको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेलाभन्दा यसपटक ९ लाख १५ हजार १ सय १९ जना मतदाता वृद्धि भएका छन् । त्यतिबेला १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता थिए । पछिल्ला तीन वर्षमा ९ लाखभन्दा बढी मतदाता थपिएका हुन् ।

कानुनमा संशोधन गरेर गत असोज र कात्तिकमा मतदाता नामावली संकलन गरिएको थियो । त्यसबेला उल्लेख्य संख्यामा मतदाता थपिएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरुको विवरणलाई अद्यावधिक गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरूष छन् । ९२ लाख ४० हजार १ सय ३१ जना महिला र अन्य २ सय जना छन् ।

अघिल्लो पटकभन्दा पुरूष मतदाताको संख्या ५ लाख २२ हजार ५ सय ५२, महिलाको ३ लाख ९२ हजार ५ सय ५२ र अन्यमा १५ जना थपिएका छन् ।

अन्तिम मतदाता नामावलीसँगै आयोगले मतदानस्थल र मतदान केन्द्रको पनि टुंगो लगाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ ।

२०७९ को निर्वाचनका बेलाभन्दा यसपटक ७५ वटा मतदान स्थल तथा ८ सय ८५ वटा मतदान केन्द्र वृद्धि गरिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ क्षेत्र र समानुपातिक गरी २७५ सदस्यका लागि फागुन २१ मा निर्वाचन हुँदै छ ।


प्रतिकृया दिनुहोस