२०८२ असोज ०१ गते बुधबार | 17 September, 2025

भदाै २४ काे प्रदर्शनमा कति पालिका कार्यालयमा भयाे क्षति ?

- विशेष खबर बुधबार ०१, असोज २०८२ ०९:४४

भदाै २४ काे प्रदर्शनमा कति पालिका कार्यालयमा भयाे क्षति ?

काठमाडाैं । भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको संघीय सरकार र प्रदेश सरकार मातहतका संरचनाजस्तै कतिपय स्थानीय तहका संरचना पनि पूर्ण रूपमा क्षति भएका छन्।

गाउँपालिकाका प्रशासनिक भवन, वडा कार्यालय र जनप्रतिनिधिका निजी घरहरूमा तोडफोड र आगजनी गरिएको छ।गाउँपालिका महासंघले देशभरका गाउँपालिकाहरूमा भएको क्षतिको विस्तृत विवरण तयार पारेको छ। नगरपालिका संघले भने विस्तृत विवरण अझै तयार पारेको छैन।

देशभरका ७५३ स्थानीय तहमध्ये ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगर छन्। प्रारम्भिक तथ्यांकअनुसार २७६ नगरपालिकामध्ये ६९ वटामा तोडफोड र ७७ वटामा आगजनी भएको छ। वडा कार्यालय र जनप्रतिनिधिका विषयमा नगरपालिका संघ तथ्यांक संकलनकै क्रममा छ। ४६० गाउँपालिकामध्ये २२ वटा गाउँपालिकाको भवन नै पूर्ण रूपमा क्षति भएको छ। २७ वटामा आंशिक क्षति पुगेको छ।

कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा विरोधका घटनाहरू देखिएका छन्। झापाको कचनकवल, झापा, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकाको भवनमा पूर्ण रूपमा क्षति पुर्‍याएका छन्। कचनकवलको तीन वटा वडा कार्यालयमा क्षति पुर्‍याइएको छ। गौरीगञ्ज गाउँपालिकाको प्रशासनिक भवनमा आंशिक क्षति भएको छ। एउटा वडा कार्यालयमा आंशिक क्षति भएको छ भने पालिका अध्यक्षको घरमा तोडफोड पनि गरिएको छ।

झापा गाउँपालिकाको सात वटा वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाह्रदशी गाउँपालिकाको पनि सात वटा वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बुद्धशान्ति गाउँपालिकामा पनि सात वटै वडा कार्यालय पूर्ण रूपमा क्षति भएको छ। गाउँपालिका अध्यक्षको घरमा आगजनीबाट पूर्ण क्षति पुर्‍याइएको छ।

इलामको रोङ गाउँपालिकाको एउटा वडा कार्यालय पूर्ण रूपमा क्षति पुर्‍याइएको छ। मोरङको कानेपोखरी गाउँपालिका र सबै वडा कार्यालयको भवन आगजनी गरेर पूर्ण क्षति पुर्‍याइएको छ। कटहरी गाउँपालिकाको कागजातहरू बाहिर निकालेर आगजनी गरिएको छ।

जहदा गाउँपालिकामा पालिका भवनमा सामान्य आगजनी गरिएको छ। दुई वटा वडा कार्यालय पूर्ण र एउटामा आंशिक क्षति पुर्‍याइएको छ। धनपालथान गाउँपालिकाको भवन आगजनी गरेर पूर्ण क्षति, दुई वटा वडा कार्यालयमा पूर्ण क्षति पुर्‍याइएको छ। एउटामा आंशिक क्षति छ। बुढीगंगा गाउँपालिकाको एउटा वडा कार्यालयमा आंशिक क्षति पुर्‍याइएको छ। मिक्लाजुङ गाउँपालिकामा पालिका भवन र एउटा वडा कार्यालय तोडफोड गरिएको छ।

सुनसरीको कोशी गाउँपालिकाको पालिका भवन, तीन वटा वडा कार्यालय र पालिका अध्यक्षको घर आगजनी गरेर पूर्ण क्षति पुर्‍याइएको छ। गढी गाउँपालिकामा पालिका भवन र दुई वटा वडा आगजनी गरेर पूर्ण क्षति पुर्‍याइएको छ। 

चार वटा वडा कार्यालयमा आंशिक क्षति भएको छ। देवानगञ्ज गाउँपालिकाको पालिका भवन र दुई वटा वडा कार्यालयमा तोडफोड गरेर आंशिक क्षति पुर्‍याइएको छ। भोक्राहा नरसिंह गाउँपालिकामा पालिका भवनसहित पाँच वटा वडाका कार्यालय आगजनी गरी पूर्ण क्षति पुगेको छ। दुई वटा गाडी जलाइएको र तीन सय थान मोटरपम्प तोडफोड गरिएको पालिकाले जनाएको छ।

कोशी प्रदेशमा गाउँपालिका भवनः नौ वटामा पूर्ण र पाँच वटामा आंशिक, वडा कार्यालयः ४४ वटामा पूर्ण र १२ वटामा आंशिक र जनप्रतिनिधिको निजी घर २ वटामा पूर्ण र १ वटामा आंशिक क्षति भएको छ।

मधेश प्रदेशमा गाउँपालिका भवन सात वटामा पूर्ण र दस वटामा आंशिक, वडा कार्यालय दुई वटामा पूर्ण र चार वटामा आंशिक र जनप्रतिनिधिको चार वटा निजी घरमा पूर्ण र एउटामा आंशिक क्षति भएको छ।

मधेश प्रदेशका धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिराहाका गाउँपालिकाहरूमा व्यापक क्षति भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिकामा एउटा वडा भवन र अध्यक्षको घरमा आगजनी गरियो। धनौजी गाउँपालिकाको गाडी तोडफोड र आगजनी गरियो। प्रशासनिक भवन र एउटा वडा कार्यालयमा आंशिक क्षति भएको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको पालिका भवन पूर्ण क्षति भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाको गाडी तोडफोड र आगजनी गरिएको छ।

जिराभवानी गाउँपालिकाको फर्निचर तोडफोड र गाडीमा आगजनी भएको छ। बाराको देवताल गाउँपालिकाको पनि फर्निचर तोडफोड र गाडीमा आगजनी गरिएको छ।

बारागढी गाउँपालिकाको फर्निचर तोडफोड, गाडीमा आगजनी र उपाध्यक्षको घर लुटपाट र आगजनी गरिएको छ ।विश्रामपुर गाउँपालिकाको भवन पूर्ण क्षति भएको छ भने एउटा सवारीसाधनमा क्षति पुर्‍याइएको छ।

सुवर्ण गाउँपालिकाको फर्निचर तोडफोड र गाडीमा आगजनी गरिएको छ। महोत्तरीको पिपरा र सोनमा गाउँपालिकामा फर्निचर तोडफोड र गाडीमा आगजनी भएको छ। रौतहटको यमुनामाई, सप्तरीको अग्नीसाइर कृष्णासवरन, सर्लाहीको कौडेना, चन्द्रनगर र चक्रघट्टा गाउँपालिकाको पनि फर्निचर तोडफोड र सवारीमा आगजनी गरिएको छ।

सर्लाहीको ब्रह्मापुरी गाउँपालिकाका अध्यक्षको घर लुटपाट गरिएको जनाइएको छ। सिराहाको औरही र नरहा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा क्षति पुगेको छ। नवराजपुर गाउँपालिकाको भवन तोडफोड गरिएको छ। गाडीमा आगजनी भएको छ। बरियारपट्टी गाउँपालिकाको गाडी तोडफोड गरिएको छ। भगवानपुर गाउँपालिकामा आंशिक र विष्णुपुर गाउँपालिका भवनमा पूर्ण क्षति पुर्‍याइएको छ।

बागमती प्रदेशमा चितवन, धादिङ, मकवानपुर र सिन्धुली जिल्लामा केही घटनाहरू रेकर्ड भएका छन्। चितवनको इच्छाकामना गाउँपालिकामा पालिका भवनसहित सबै संरचना जलाइएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको एक वडा कार्यालयमा तोडफोड भएको छ। मकवानपुरको बकैया गाउँपालिकाको भवन आगजनीबाट पूर्ण क्षति भएको छ।

भीमफेदी गाउँपालिकाको अध्यक्षको घरमा आगजनीबाट पूर्ण क्षति भएको छ। मकवानपुरगढी गाउँपालिकाको भवन र एउटा वडा कार्यालय तोडफोड गरिएको छ। मनहरी गाउँपालिकाको भवनमा आगजनी गरिएको छ।

त्यस्तै, राक्सिराङ गाउँपालिकाको भवन आगजनी गरी पूर्ण क्षति भएको छ। पालिका उपाध्यक्ष डेरा बसेको घर तोडफोड गरी ल्यापटप र गहनासहितका सामान लुटपाट गरिएको छ।

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा उपाध्यक्षले प्रयोग गर्ने गाडी र सुनकोशी गाउँपालिकामा वडाध्यक्षको बाइकमा आगजनी गरिएको छ।

बागमती प्रदेशमा गाउँपालिका भवन चार वटामा पूर्ण र एउटामा आंशिक, तीन वटा वडा कार्यालयमा आंशिक र जनप्रतिनिधिको निजी एउटा घरमा पूर्ण र एउटामा आंशिक क्षति भएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एउटा वडा भवनमा क्षति र दुई वटा बाइक जलाइएको छ। रूपा गाउँपालिकामा दुई वटा गाडी जलाइएको छ। नवलपरासीको हुप्सेकोट गाउँपालिकाको दुई वटा गाडीमा आगजनी गरिएको छ। अध्यक्षको घरमा आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको छ। अध्यक्ष लक्ष्मीदेवी पाण्डे गाउँपालिका महासंघकी अध्यक्षसमेत हुन्।

पर्वतको पैयुँ र मोदी र स्याङ्जाको आँधीखोला गाउँपालिकाको भवन पनि तोडफोड गरिएको छ। गण्डकी प्रदेशमा गाउँपालिका भवन तीन वटामा आंशिक, एउटा वडा कार्यालयमा आंशिक र एउटा जनप्रतिनिधिको निजी घरमा पूर्ण क्षति पुगेको छ।

लुम्बिनी प्रदेशमा गाउँपालिकाको एउटा भवनमा पूर्ण र तीन वटामा आंशिक क्षति, दुइटा वडा कार्यालयमा पूर्ण र पाँच वटामा आंशिक क्षति पुर्‍याइएको छ। एउटा जनप्रतिनिधिको निजी घरमा पूर्ण क्षति भएको छ।

लुम्बिनी प्रदेशमा गुल्मीको रूरू गाउँपालिकाको एउटा वडा कार्यालयमा आगजनी गरिएको छ। दाङको बबई गाउँपालिका भवन र २ वटा वडा कार्यालय आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको छ। बाँकेको डुडुवा र नरैनापुर गाउँपालिका भवनमा आंशिक क्षति भएको छ।

नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्षको निजी घरमा आगजनी भएको छ। पाल्हीनन्दन गाउँपालिकाको भवन तोडफोड गरी आंशिक क्षति पुर्‍याइएको छ। रुपन्देहीको मायादेवी गाउँपालिकाको केही मोटरसाइकलमा आगजनी गरिएको छ।

कर्णाली प्रदेशका कुनै पनि गाउँपालिका, वडा कार्यालय र गाउँपालिका जनप्रतिनिधिको क्षति भएको विवरण पाइएको छैन।

सुदूरपश्चिम प्रदेशमा गाउँपालिका भवन १ वटामा पूर्ण र ५ वटामा आंशिक, वडा कार्यालयस् १३ वटामा आंशिक क्षति र जनप्रतिनिधिको दुईटा निजी घरमा पूर्ण क्षति पुगेको विवरण छ।

कैलालीको कैलारी गाउँपालिका भवनभित्रका सबै कागजात जलाइएको र छ वटा वडाका सामान जलाइएको विवरण छ।चुरे गाउँपालिकाको एउटा मोटरसाइकल जलाइएको छ।

जानकी गाउँपालिकाको पालिका र एउटा वडाका सामान जलाइएको छ। जोशीपुर गाउँपालिकाको पालिका र एउटा वडा कार्यालयमा क्षति पुगेको छ।

मोहन्याल र बर्दगोरिया गाउँपालिका भवनमा पनि क्षति पुर्‍याइएको छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको भवनमा पनि क्षति पुगेको छ।

क्षति पुगेका सबै गाउँपालिकाले अझैसम्म कार्यालयकाे सेवा संचालन  नियमित गर्न सकेका छैनन् । स्राेतसाधन जुटाएर अत्यावश्यक सेवा संचालनकाे प्रयास भइरहेकाे महासंघले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस