सोमबार २६, साउन २०७७ ०७:१४
                                                            काठमाडौं । सरकारले कोराेना संक्रमण र मृत्युको संख्या बढ्न थालेकाले आउँदो भदौ १ गतेबाट सुचारु गर्ने भनिएका सेवाहरु तत्काल सञ्चालन नगर्ने भएको छ ।
भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो तर संक्रमणका कारण जोखिम झन् बढेकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा मन्त्रीहरूबीच तत्कालका लागि सरकारले यसअघि सञ्चालन गर्ने भनिएका कुनै पनि सेवालाई अघि नबढाउने निष्कर्षमा पुगेको स्राेतले जनाएकाे छ । यसबारे निर्णय साेमबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
साउन ६ गतेबाट लकडाउन पूर्ण रुपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले सुचारु गर्ने भनेर निर्णय गरेका सेवा तत्कालका लागि नखोल्ने निष्कर्षमा सीसीएमसी पुगेको हो ।
भदौ १ बाट खोल्ने भनिएका सेवाहरू कति दिन पछि खोल्ने भन्ने सम्बन्धमा भने सीसीएमसीमा सहमति भएको छैन ।
प्रतिकृया दिनुहोस