२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

पार्टी विभाजनविरुद्ध नेकपा सांसदहरूकाे हस्ताक्षर

आइतबार २५, साउन २०७७ ०२:२०

पार्टी विभाजनविरुद्ध नेकपा सांसदहरूकाे हस्ताक्षर

काठमाडाैं ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर गरेका हुन् ।

ओली र दाहाल-नेपाल पक्षको विवादले स्थायी कमिटी बैठक अवरुद्ध भइरहेका बेला नेकपाका संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५० भन्दा बढी सांसदले हस्ताक्षर सार्वजनिक गर्न लागेका हुन् ।

आइतबार २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरेर विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्न लागेको सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।

पार्टीले निर्वाचनका बेला जनतामाझ सार्वजनिक गरेका घोषणापत्र र कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा विभाजनको दिशातिर गएको भन्दै ओली, दाहाल र नेपाल पक्षका सांसदले संयुक्त रूपमा एकताको दबाबका लागि हस्ताक्षर अभियान संचालन गरेका थिए ।

सांसद सुनुवारका अनुसार ५० भन्दा बढी सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर सार्वजनिक गरेपछि सांसदहरूले शीर्ष नेताहरूलाई बुझाउने तयारी पनि गरिरहेको सांसद गणेश पहाडीले जानकारी दिए । हस्ताक्षर अभियानमा सांसदहरू कृष्णप्रसाद दाहाल, यज्ञराज सुनुवार, सुरेश राई, झपट रावल, गणेश पहाडी, रामकुमारी झाँक्री, विशाल भट्टराई, नवराज सिलवाललगायत सांसद रहेका छन् ।

हस्ताक्षर अभियानमा रहेका सांसदहरूले विवाद समाधानका लागि सबै नेता एकठाउँमा लाग्नुपर्ने र आफूहरू विभाजनको विपक्षमा उभिने प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले स्थायित्व र विकास तथा समृद्धिका लागि पार्टी नेतृत्व एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै दबाब दिन लागेका हुन् ।


प्रतिकृया दिनुहोस