२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ओलीबाटै नेकपाको आचारसंहिता उल्लंघन

सोमबार १२, फागुन २०७६ ११:५२

ओलीबाटै नेकपाको आचारसंहिता उल्लंघन

काठमाडौं– नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । आइतबार जन्मघर तेह्रथुम पुगेर ६९ अाैं जन्मदिन मनाउन उनले आचारसंहिता उल्ल‌ंघन गरेका हुन ।

नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्तालाई पठाएको ११ बुँदे आचारसंहिताको दोस्रो बुँदामा ‘जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ’ उल्लेख थियो । तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव तडकभडक किसिमले मनाएर आफैले जारी गरेको आचारसंहिताको खिल्ली उडाइदिएका छन् ।

 नेकपाको आचारसंहितामा ‘बर्थ डे’ घर परिवारमामात्र सीमित गर्नुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीको जन्मोत्सवमा तेह्रथुमको आठराईमा नेपालको नक्शा अंकित केक हेलिकप्टरमा लगिएको थियो । ओलीको जन्मोत्सव मनाउन चारवटा हेलिकोप्टर आठराई पुगेका थिए ।

यती समूहका सोनाम शेर्पा नेपालको नक्शा स्वरुपको केक लिएर आफ्नै हेलिकप्टरमा प्रधानमन्त्रीलाई शुभकामना दिन पुगेका थिए ।

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि चर्को आलोचना भएको छ । कतिपयले भारत, अमेरिका लगायत विदेशमा पनि सरकार प्रमुखको जन्म दिनमा देशको नक्शा अंकित केक काट्ने गरिएको तर्क गरेका छन् । विदेशमा त्यस्तो प्रचलन छ भन्दैमा नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ ।


#प्रधानमन्त्री केपी ओली

प्रतिकृया दिनुहोस