२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

न्यून चापीय रेखा सक्रिय,देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना

शनिबार २४, साउन २०७७ १०:०९

न्यून चापीय रेखा सक्रिय,देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ ।

केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, ‘साउन २४ गते रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

शनिबार बिहान प्रदेश नं. २ मा र प्रदेश नं. ५ का केही भू–भागहरुमा आंशिक बदली छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


#जल तथा मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस