२०८१ मङि्सर १७ गते सोमबार | 2 December, 2024

१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारीमा अस्ट्रेलिया

एजेन्सी बिहिबार २२, कार्तिक २०८१ १०:११

१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारीमा अस्ट्रेलिया

काठमाडौं । अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धित लगाउन ‘विश्वमै अग्रणी’ कानुनी व्यवस्था अवलम्बन गर्ने जनाएको छ ।

बिहीबार प्रधानमन्त्री एन्थनी अल्बानिजीले हाल प्रतिबन्धात्मक व्यवस्थासहितको कानुनी मस्यौदा तयार गर्ने र आगामी वर्ष त्यो कानुनका रूपमा लागू हुने बताएका छन् ।

मेटाको इन्स्टाग्राम र फेसबुक, बाइटडान्सको टिकटक र इलन मस्कको एक्स (ट्विटर), अल्फाबेट कम्पनीको युट्युबजस्ता सामाजिक सञ्जाल प्लाटफर्महरूका लागि सो कानुन लागू हुने अस्ट्रेलियाका सञ्चारमन्त्री मिसेल रोल्यान्डले स्पष्ट पारेका छन् ।

प्यारेन्टल कन्सेन्ट अर्थात अभिभावकको अनुमति लिएर सामाजिक सञ्जाल चलाउने बालबालिकाका लागि पनि कानुनमा कुनै अपवाद नहुने प्रधानमन्त्री अल्बानिजीले उल्लेख गरेका छन् ।

‘सामाजिक सञ्जालले हाम्रा बालबालिकाहरूलाई हानी पुर्‍याइरहेको छ र यसलाई अन्त्य गर्ने समय आएको मैले ठानेको छु,’ प्रधानमन्त्री अल्बानिजीले पत्रकार सम्मेलनमा भनेका थिए, ‘बालबालिकामा सामाजिक सञ्जालको पहुँच रोक्ने जिम्मेवारी सम्बन्धित प्लाटफर्म सञ्चालकहरूको हुनेछ, उनीहरूले यसका लागि उचित कदम चाल्नुपर्नेछ । यसको जिम्मेवारी अभिभावक वा बालबालिकाहरूमा रहनेछैन ।’

प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको शारीरिक र मानसिक स्वास्थमा पर्नसक्ने असर उल्लेख गर्दै हानिकारक शारीरिक चित्रणले विशेषतः बालबालिकाहरुका लागि महिलाविरोधी सामग्रीले बढी प्रभाव पार्ने जोखिम रहेको औंल्याएका थिए ।

बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा अस्ट्रेलियाको प्रतिपक्षी लिबरल पार्टीलेसमेत समर्थन जनाएको छ । बाल अधिकारका पक्षमा काम गर्ने अस्ट्रेलियाका कतिपय समूहहरूले भने प्रस्तावित प्रतिबन्धलाई ‘अत्यन्तै भद्दा उपाय’ भनेर आलोचना गरेका छन् । यस्तो प्रतिबन्ध असाध्यै कडा हुने र समस्या समाधानका प्रभावकारी नहुनसक्ने भन्दै थप सुक्ष्म र लक्षित दृष्टिकोण उत्तम हुने अधिकारकर्मीहरूको सुझाव छ ।

मेटा, टिकटक, एक्स र गुगललगायत सामाजिक सञ्जाल सञ्चालकहरूको प्रतिनिधि संस्था डिजिटल इन्डस्ट्री ग्रुपले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा यसले बालबालिकालाई नियमनको दायरा बाहिर रहेका डार्क वेबहरूमा पुर्‍याउनसक्ने जोखिम रहेको प्रतिक्रिया दिएको छ ।

अस्ट्रेलियाजस्तै विश्वका कयौं देशहरूले बालबालिकलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन कानुनी व्यवस्था लागू गर्ने प्रतिबन्ध व्यक्त गर्दै आएका छन् । यीमध्ये अस्ट्रेलियाको कानुन अझ कडा हुने अनुमान गरिएको छ ।

फ्रान्सले गत वर्ष १५ वर्षभन्दा मुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो । तर त्यहाँ अभिभावकको अनुमति लिएर चलाउन सक्ने व्यवस्था राखिएको थियो ।

अमेरिकामा त दसकौंअघिदेखि नै १३ वर्षभन्दा कम उमेरका केटाकेटीहरूलाई उनीहरूको अभिभावको कन्सेन्ट लिएर मात्रै सामाजिक सञ्जाल कम्पनीहरूले प्लाटफर्ममा पहुँच दिनसक्ने व्यवस्था छ । तर यो व्यवस्थालाई लिएर विश्लेषकहरूले शंका व्यक्त गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस