२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पर्सामा १९ साउनदेखि निषेधाज्ञा, सेना पनि परिचालन हुने

आइतबार १८, साउन २०७७ ०७:४२

पर्सामा १९ साउनदेखि निषेधाज्ञा, सेना पनि परिचालन हुने

पर्सा । पर्सामा १९ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन ।

शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिने छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने साधन, अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

छिमेकी देश भारतसँग सिमाना जोडिएका नाकाहरु तथा खुल्ला सिमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन रोक्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त  स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।

वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी भएको ६ दिन वितिसकेको छ ।


प्रतिकृया दिनुहोस