२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सोमबारबाट पुनः मौसम सक्रिय हुने सम्भावना

शनिबार १०, साउन २०७७ ०८:२७

सोमबारबाट पुनः मौसम सक्रिय हुने सम्भावना

काठमाडाैं । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ ।

न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले जनधनको समेत क्षति भएको थियो ।

त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो । गतअसार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो ।

सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो । 

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो ।

सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।

यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो दिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ । 


#मौसम सक्रिय

प्रतिकृया दिनुहोस