२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

'महाधिवेशनको प्रस्ताव अल्झाउने प्रयत्न'

आइतबार ०४, साउन २०७७ ०३:३९

'महाधिवेशनको प्रस्ताव अल्झाउने प्रयत्न'
फाइल तस्बीर ।

काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंसीरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको प्रष्टीकरण दिएका छन् । 

आइतबार आफ्नै निवास खुमलटारमा पहिला सचिवालयका सदस्य र पछि स्थायी कमिटीका सदस्यसमेत राखेर दाहालले शनिबारको राजनीतिक घटनाक्रम र मंसीरको महाधिवेशनबारे प्रस्टीकरण दिएका हुन् । शनिबार सचिवालय बैठकमा दुवै अध्यक्षले मंसीरमा महाधिवेश गर्ने सहमतिको प्रस्ताव गरेका थिए ।

नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि असन्तुष्ट सचिवालयका चार नेतालाई दाहालले आइतबार बिहानै खुमलटार बोलाएका थिए । शनिबारको बसेको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

एक नेताका अनुसार दाहालले यसरी महाधिवेशनको प्रस्ताव अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएको बताएका छन् । ‘अर्ली महाधिवेशनको प्रस्ताव अल्झाउने प्रस्ताव हो । न सदस्यताको टुंगो लागेको छ । न पार्टी एकीकरणको प्रक्रिया पूरा भएको छ । न वैचारिक छलफल हुने समय छ । प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन हुँदैन, ’दाहालको भनाई उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘महाधिवेशन भनेपछि सबै विधि पूरा गर्नुपर्छ । यसकारण यो प्रस्ताव जसरी आयो त्यो अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न हो । हिजो केही सहमति गरिएको छैन ।’

ती सदस्यका अनुसार दाहालले सामूहिक रुपमा कमिटीको निर्णयअनुसार अगाडि बढ्ने पनि बताएका छन् । दाहालको भनाईउद्धृत गर्दै ती सदस्यले भने, ‘बाहिर सहमति भयो भनेर हल्ला गरियो, हामी त्यसमा सहमत छैनौं । राष्ट्रपतिकहाँ गएको पनि जुन ढंगले हल्ला गरियो, त्यो कुनै पुर्वनिर्धारित कार्यक्रम थिएन । अप्रत्याशित रुपमा बोलाएर गएको हुँ । पार्टी कमिटीले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने हो । त्यसरी नै जानुपर्छ । सामूहिक रुपमा कमिटीको निर्णय अनुसार अगाडि बढ्ने हो । बाहिर आएका हल्ला मात्रै हुन् ।’

नेकपाको आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भइसकेको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानका कारण असार १० देखि सुरु नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित छ । ओलीले दुवै पद नछाड्ने बताएका छन् । यही तनावबीच मंसीरमा महाधिवेशन गर्ने प्रस्तावले नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।


#नेकपा

प्रतिकृया दिनुहोस