२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

- विशेष खबर शुक्रबार ०४, साउन २०८१ ०५:५९

गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर राजदूत थम्पसनले गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्।

भेटमा गृहमन्त्री लेखक र राजदूत थम्पसनबीच नेपाल र अमेरिकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुबै देशको साझा धारणा रहेको विषयमा छलफल भएको थियो ।

गृहमन्त्री लेखकले नेपाल र अमेरिकाकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम रहेको भन्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुवै देशबीच समान धारणा रहेको बताएका थिए ।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकास अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको बताएका थिए । राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ जिम्मेवारीको लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

राजदूत थम्पसनले नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैं इच्छुक रहेको र एमसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदा‍न पुर्‍याउने विश्वास रहेको बताएका थिए।


प्रतिकृया दिनुहोस