२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

रास्वपाको वडा अधिवेशन आजदेखि

- विशेष खबर बिहिबार २८, मङि्सर २०८० ०८:३५

रास्वपाको वडा अधिवेशन आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । 

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 'निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियाैं । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ,' उनले भने, 'सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौं । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौं ।'
    
रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ ।

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् । 
    
'जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौं । यसलाई स्थानीय तहसम्म पुर्याउने मुख्य एजेण्डा हो,' प्रमुख सचेतक परियारले भने । 

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए । उनले भने,'११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौं । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।'


प्रतिकृया दिनुहोस