२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

एनसेल शेयर खरिदबिक्री छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

- विशेष खबर मङ्गलबार १९, मङि्सर २०८० १०:०२

एनसेल शेयर खरिदबिक्री छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
फाइल फाेटाे

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो ।
 
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिए।

सरकारले प्रारम्भिक चरणमै एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरिसकेको जानकारी दिँदै उनले सरकारको अग्रसरतालाई गठबन्धन दलका नेताहरुले समर्थन गरेकाे बताए।
 
मन्त्री शर्माले उक्त प्रकरणमा गठबन्धन दलका शीर्ष नेताको कुनै पनि संलग्नता नरहेको जनाउँदै त्यस्ता अफवाहमा कुनै पनि सत्यता नरहेको बताए। 'शीर्ष नेताको संलग्नता हुन्थ्यो भने छानबिनको कुरै हुँदैनथ्यो, सरकार नियम कानुन र राष्ट्रहित प्रति प्रतिबद्ध छ,' उनले भने ।
 
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री शर्मालगायत सहभागी थिए ।


प्रतिकृया दिनुहोस