२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

विभिन्न स्थानमा युवाद्वारा सरकारबिरूद्ध प्रदर्शन, जसपा, साझा र विवेकशील पार्टीकाे समर्थन

शुक्रबार ३०, जेठ २०७७ ०८:५०

विभिन्न स्थानमा युवाद्वारा सरकारबिरूद्ध प्रदर्शन, जसपा, साझा र विवेकशील पार्टीकाे समर्थन

काठमाडौं । शुक्रबार नेपालका विभिन्न स्थानमा सरकारको विरोधमा मौन प्रदर्शन भएका छन् । मंगलबार र बिहीबार राजधानीमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि शुक्रबार माैन प्रदर्शन भएकाे हाे । सरकारले कोरोनाको पीसीआर परीक्षण नबढाएको, भएका खर्चहरुको विवरण सार्वजनिक नगरेको लगायतका विषयमा युवाहरुले गरेका प्रदर्शनमाथि प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । 

राजधानी काठमाडाैं, बुटवल, हेटाैडा, काभ्रे, पाल्पा, नेपालगन्ज, धनगढी लगायत देशका अधिकांश सहरमा युवाहरू स्वतसफूर्त रूपमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका थिए । 

पछिल्लो समय देशैभरी सुरु भएको सरकारविरोधी प्रदर्शनलाई तीन राजनीतिक दल जनता समाजवादी, साझा पार्टी, विवेकशीलले समर्थन जनाएका छन् । यी तीनै दलले विज्ञप्ती प्रकाशित गर्दै यी आन्दोलनलाई सरकारको असफलताले उठेको आवाजको संज्ञा दिएका छन् ।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सरकारको असक्षमता र भ्रष्टाचारविरुद्ध उठेका आवाजका रुपमा उनीहरुले आन्दोलनलाई चित्रण गरेका छन् ।

'ओली सरकारको असफलताविरुद्ध व्यापक जनप्रदर्शनहरु भइरहेका छन् । सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा सो कार्यको घोर भत्सर्ना गर्छौं,' जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दमन बन्द गरि जनताका न्यायोचित मागको तुरुन्त सम्बोधन गर्न पनि जसपाले माग गरेको छ ।

कोरोनासँग जुध्न पर्याप्त समय भएपनि सरकारले फोहोरी राजनीतिक खेल तथा आफ्ना असक्षमता र भ्रष्टाचार छोप्न झन्डै तीन महिना लकडाउनमा समय व्यतित गरेको आरोप साझा पार्टीले लगाएको छ ।

 'अति भएपछि नागरिकहरू देशभरी सडकमा उत्रिएका छन्। नागरिक प्रदर्शनमा मूलत: कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडिटी परिक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने माग गरिएको छ, जुन सम्पूर्ण नेपालीको माग हो,' साझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साझाले सम्पूर्ण नेपालीको आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु खेदजनक भएको पनि बताएको छ । साझाले वर्तमान संकटले विविध क्षेत्रमा पारेको तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न पनि माग गरेको छ ।

विवेकशील नेपाली पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा प्रश्न सडक प्रदर्शनमा देखिएको बताएकी छन् ।


प्रतिकृया दिनुहोस