२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक

बिहिबार ०८, फागुन २०७६ ०९:२९

सञ्चारमन्त्री  बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक
फाइल तस्बीर ।

काठमाडौं, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको भनिएको सम्वाद हाम्रा कुरा डटकम नामक अनलाइनले सार्वजनिक गरेको छ ।

स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग बाँस्कोटाले गरेको कुराकानीको अंश अनलाइनले हिजो राती सार्वजनिक गरेको हो ।

सो वार्तामा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव गरिएको छ । कमिसनका विषयमा मन्त्री र मिश्रविच कुराकानी भैरहेको सो अडियोमा सुनिएको छ ।

सार्वजनिक भएको अडियोका विषयमा सञ्चारमन्त्री र सरकारका तर्फवाट कुनै प्रतिक्रिया आएको छैन ।

संसदको सार्वजनिक लेखा समितिले समेत सेक्युरिटी प्रेस खरिदमा अनियमिता भएको विषयमा अनुसन्धान गरिरहेको छ । राप्रपाका अध्यक्ष कमल थापाले बाँस्कोटालाई बर्खास्त गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री केपी ओलीलाई बाँस्कोटालाई हटाएर छानविन गर्न सुझाव दिएका हुन् ।

अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारप्रति व्यंग गरेका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई ट्विटमार्फत अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्न आग्रह गरेका हुन् । भट्टराईले भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको यही हो भनेर प्रश्न समेत गरेका छन् ।

स्रोत: हाम्राकुरा डटकम


#गोकुल बाँस्कोटा

प्रतिकृया दिनुहोस