२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

यूएन महासचिव गुटेरेस आज राति काठमाडाैं पुग्दै, यस्ताे छ नेपाल भ्रमणकाे तालिका

- विशेष खबर शनिबार ११, कार्तिक २०८० १०:१६

यूएन महासचिव गुटेरेस आज राति काठमाडाैं पुग्दै, यस्ताे छ नेपाल भ्रमणकाे तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौं आउँदै छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । 

भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री  दाहालसँग उनको कार्यालयमा महासचिव गुटेरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा महासचिव गुटेरेसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्नेछन् ।

भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्ने तयारी छ । भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

आगामी मङ्गलबार अपराह्न ४ः०० बजे महासचिव गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुनलागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउन लागेका हुन्।


प्रतिकृया दिनुहोस