२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कालापानी क्षेत्रमा माेदीकाे भ्रमणबारे संसदमा प्रश्न, रवि लामिछानेले के भने ? (भिडियाे)

- विशेष खबर बिहिबार २५, असोज २०८० ११:२७

कालापानी क्षेत्रमा माेदीकाे भ्रमणबारे संसदमा प्रश्न, रवि लामिछानेले के भने ? (भिडियाे)
फाइल फाेटाे

काठमाडौं । भारतद्वारा अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेकोका छन् । मोदी बिहीबार बिहानै कालापानी क्षेत्र पुगेका थिए । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

उनले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गरेका थिए । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गरेका थिए । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग सामान्य छलफल गरेकाे जनाइएको छ ।

माेदीकाे भ्रमणप्रति बिहीबारकाे संघीय संसदमा सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सांसदहरूले संघीय संसद् भवन नयाँ बानेश्वरमा भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै आपत्ति जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले मोदीले नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ मागेका थिए । सभापति लामिछानेले मोदीले नेपाली भूमि गुन्जीमा गरेको भ्रमणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए।  

‘हाम्रो मित्रराष्ट्र छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ, यत्रो ठूलो भ्रमण हाम्रो देशमा यो कुटी, गुन्जी अहिले सम्माननीय सभामुख आसिन हुनुभएको चेयरको अगाडिको डेस्कको चुच्चे नक्सा भित्र नै पर्छ । हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्साभित्र हाम्रो भू–भाग पर्छ । त्यसकारणले त्यस भुभागभित्र गुन्जी पनि पर्छ । जहाँ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो भन्ने समाचार आयो,' उनले भने ।

मोदी आएको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दा त्यहाँ जान नपाउने कुरा थाहा भएको लामिछानले उल्लेख गरे । 'म सरकार र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ?,' लामिछानेले भने,' यत्रो ठूलो भ्रमणमा मित्रराष्ट्र, छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरु हुँदैनन् ? त्यसकारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्‍यो ।’

प्रमुख प्रतिपक्ष एमाले सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको भन्दै आपत्ति जनाए । ‘भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, सामान्य कूटनीतिक मर्यादा र एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न भौगोलिक रुपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपाल बीचको सम्बन्ध र त्यसको सामान्य मर्यादालाई समेत उल्लंघन गरेर भ्रमण गर्नुभएको छ । यो कुनै पनि हिसाबले नेपालले यसको पक्षमा अथवा यो कुरा सही हो भन्न सक्दैन,' गैरेले भने, 'यो अत्यन्त गलत काम भएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो । हामी कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनिरहेका छौँ । भारतको प्रधानमन्त्रीले जसरी नेपाली भूमिमा भ्रमण गर्नुभयो त्यो नेपाल र भारतबीचको सम्बन्धको विपरीत छ । सामान्य कूटनीतिक मर्यादाको विरुद्ध छ ।’

कांग्रेस सांसदसमेत रहेका राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूमिमा भ्रमण औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए । उनले राजकीय भ्रमणका रूपमा नेपाली भूमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने भन्दै मोदीको व्यक्तिगत भ्रमणका बारेमा जानकारी गराउनु नगराउनु उनीहरूकै कुरा भएको बताए । ‘उहाँ राज्यलाई थाहा दिएर आधिकारिक रुपमा प्रवेश गर्नुभएको होइन । त्यसैले राज्य व्यवस्था समितिले त्यो बारेमा धेरै चासो लिएन । उहाँ सरकारको तर्फबाट राजकीय भ्रमणको रुपमा आउनु भएको भए राज्यले नै सत्कार र सम्मान गर्नुपर्थ्यो,' उनले भने, 'व्यक्तिगत भ्रमणमा आएको कुरा हो यो । व्यक्तिगत भ्रमणमा पनि सामान्य परराष्ट्र मन्त्रालयलाई जानकारी छ कि छैन, राज्यका कुन–कुन संयन्त्रलाई जानकारी दिनुभयो उहाँहरूको कुरा हो । यसमा राज्यको तर्फबाट चासो लिएको छैन ।’

राप्रपाका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिना जानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको भन्दै सरकारप्रति आपत्ति जनाए । ‘दुर्भाग्य हामी नेपालीहरुको हो । यसरी छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिमा जानकारी नै नदिएर आउँदाखेरी पनि सरकार लाचार भइकन टुलुटुलु हेरिराखेको छ,' उनले भने, 'यो सरकारबाट हामीले के आशा राख्ने ?'

माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालले कूटनीतिक सक्रियता र भूमिका बढाउन जरुरी रहेको बताए । भारतीय प्रधानमन्त्री मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै उनले छिमेकी देशलाई विश्वासमा लिँदै कूटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको बताएका हुन् । 'कूटनीतिक हिसाबले हाम्रो सक्रियता र भूमिका जिम्मेवार र बुद्धिमतापूर्ण ढंगले कूटनीतिक सक्रियता जरुरी छ भन्नेकुरा यी तथ्यले देखाउँछन् । मलाई लाग्छ सरकारले पनि सुन्यो होला । म यतिमात्र भन्न चाहान्छु कि नेपालका तर्फबाट छिमेकीहरूलाई विश्वासमा लिदैँ हाम्रो कूटनीतिक सक्रियता बढाउनु जरुरी छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस