२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार उपलब्ध गराइने

- रासस शुक्रबार १९, असोज २०८० ११:००

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार उपलब्ध गराइने

चैनपुर (बझाङ) । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मंगलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि शुक्रबार बझाङ सदरमुकाम चैनपुर पुगेका दाहालले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई १५ देखि २० हजार रूपैयाँ उपलब्ध गराउने जानकारी दिए। प्रधानमन्त्री दाहालले भने, 'राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।'

प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उनले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धामीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताए। 

स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उनले बताए।

प्रधानमन्त्री दाहालले भने, 'यसअघि गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा गरिएको पुनःनिर्माण जस्तै स्थानीय सामग्री प्रयोग गरी काम अघि बढाइनेछ । सरकारी, विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माण गरिनेछ । सबै संरचना भूकम्प प्रतिरोधी हुनेछन् ।' सो क्रममा उनले विश्व खाद्य कार्यक्रमले सहयोग गरेको पोषणयुक्त बिस्कुट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए।


प्रतिकृया दिनुहोस