२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एमसीसी बारे सरकारको दृष्टिकोण प्रष्ट छः परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार ०७, फागुन २०७६ ०५:२०

एमसीसी बारे सरकारको दृष्टिकोण प्रष्ट छः परराष्ट्रमन्त्री  ज्ञवाली

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको बताएका छन् ।

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको बताए ।

उनले भने ‘हाम्रो पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं,अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो । हाम्रो म्याण्डेट पनि त्यतिनै हो । दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं ।’

नेकपा केन्द्रीय कमिटीबाट एमसीसी अध्ययन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य छन् । कार्यदलको बैठक बिहीबार बस्ने उनले जानकारी दिए । कार्यदलले परराष्ट्र मन्त्रालयसँग पनि कागजात मागेको छ ।

फागुन ५ देखि ७ गतेसम्मको औपचारिक भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच ब्यापार,पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री ज्ञवालीले बताए । बंगलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनको निमन्त्रणमा ज्ञवाली ढाका गएका थिए ।

द्विपक्षीय वार्ताका क्रममा जलविद्युत लायत उर्जाका स्रोतहरुको विकास तथा व्यापार गर्ने विषयमा सहमति भएको ज्ञवालीले बताए ।

त्यस्तै बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीसँगको वार्तामा बंगलादेशमा निर्यात प्रवर्द्धन र दुवै मुलुकबीच कनेक्टिभिटी वृद्धि गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिए ।

 


#प्रदीप ज्ञवाली

प्रतिकृया दिनुहोस