२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

जनताकाे जीवनप्रति खेलबाड नगर्न कांग्रेसको चेतावनी

आइतबार ११, जेठ २०७७ १०:५१

जनताकाे जीवनप्रति खेलबाड नगर्न कांग्रेसको चेतावनी

काठमाडौं । कांग्रेस केन्द्रीय समिति पदाधिकारी बैठकमा कोरोना भाइरसविरुद्ध प्रभावकारी काम गर्न नसक्‍नु सरकारको गैरजिम्मेवारी र असक्षमता भन्दै आलोचना भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले संक्रमण सुरू भएकाे ४ महिना र लकडाउनको २ महिना पूरा हुँदासम्म पनि परीक्षण सुस्त हुनु, स्वास्थ्य सामग्री पर्याप्त नहुनु, क्‍वारेन्टाइन नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरेको हो । 

भारतका विभिन्न सहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन, क्वारेन्टाइनमा राख्न र पीसीआर परीक्षणपश्चात् मात्रै घर पुर्‍याउने प्रबन्ध गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । कोरोना विरुद्धको संघर्षको क्रममा सरकारले समयमै गम्भीरता नराख्दा संक्रमितको संख्या बढेको ठहरसमेत कांग्रेसको छ । बैठकले नि:शुल्क पीसीआर परीक्षण व्यापक बनाउन पनि आग्रह गरेको छ ।

सरकारले यो गम्भीर विषयमा व्यवस्थित योजना साथ कार्य नगरिरहेको चित्रले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्नेतर्फ सरकारलाई सतर्क गराउँदै नागरिकको जीवनप्रति खेलबाड नगर्न सरकारलाई चेतावनी दिइएको छ ।

‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार गर्ने ब्यवस्थित कार्य योजना निर्माण गर्न सरकारले गरेको ढिलाइलाई आफ्ना नागरिकप्रतिको असंवेदनशील व्यवहार ठहर गर्दै बैठकले यथाशीध्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्दार थाल्न सरकारसमक्ष माग गरेको छ’बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य विविध कारणले विदेशमा मृत्यु भएका करिब दुई सयभन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

यस्तै सरकारले एकल महिला, अपांगता भएका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले केही दिनअघि एकल महिला र अपांगता भएका नागरिकहरुको भत्ता कटौती गरेको जनाएको थियो । त्यसलाई पुनर्कान्वयनमा ल्याउन र समयअनुकूल वृद्धि गर्न पनि कांग्रेसको माग छ ।


#काँग्रेस

प्रतिकृया दिनुहोस