२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

- विशेष खबर सोमबार ०४, भदौ २०८० १२:५४

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्‌बाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको सीआईबीले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागेको थियो ।  

नेपाल र भट्टराईसँग बयान नलिइकन सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, मन्त्रिपरिषद्‌बाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै नेपाल र भट्टराईसँग बयान नगरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकिने अडान सीआईबीका अधिकारीहरूले लिएपछि प्रतिवेदन बुझाउनुअघि बयान लिएको हो ।

विशिष्ठ व्यक्तिका निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णयमा संलग्न पूर्वप्रधानमन्त्री नेपाल र मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम लगेर त्यसमा नक्कली खडा गरेको कसुरमा भट्टराईसँग सीआईबीले आइतबार राती बयान लिएको हो ।


प्रतिकृया दिनुहोस