२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना

- रासस मङ्गलबार २३, साउन २०८० ११:०१

बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना
  • जमुना शर्मा 

पोखरा । तीज नजिकिँदै छ । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी छ । यसैबीच पोखराका बुहारीहरु भने आफ्नै हातबाट बनाइएका पोतेका विभिन्न थरीका  गरगहना लगाएर तीज मनाउने तयारीमा छन् । 

 बुहारी सशक्तिकरण समाज नामक संस्थामार्फत गोलबद्ध भएका बुहारीहरुले तीजमा आयातित चुरापोतेमा हुने अत्यधिक खर्च कम गर्दै आफ्नै सीपबाट निर्मित चुरापोते औँठीलगायत गरगहनामा सजिएर यो वर्षको तीज मनाउने योजना बनाएका हुन् । 

घारिपाटनकी पुष्पा शर्माले यस वर्षको तीजमा सुनका गरगहना नभई पोतेबाट बनाइएका गरगहनामा सजिएर नाच्ने र गाउने योजना बनाएको सुनाइन् । 'पोतेबाट बनाइएका सेट गहना मलाई निकै मन पर्छ, बल्ल तालिम लिने अवसर मिल्यो यसपालिको तीजमा आफ्नै हातले बनाएका पोतेका नमुनामा सजिने योजना बनाएकी छु,' उनले एक दिनको गहना बनाउने तालिमले पोतेका विभिन्न थरीका गहना बनाउन सिकेको बताइन्। 'मलाई त निकै आत्मविश्वास बढेको छ, सस्तोमा कच्चापदार्थ किनेर फुर्सदको समयमा पोतेका विभिन्न गहना तयार गर्न सकिने, आफूलाई पनि हुने र  साथीभाइ उपहार दिन वा बेच्न पनि सकिन्छ,' शर्माले भनिन् ।  

अर्की सहभागी कालिका चापागाइँले पनि यस वर्षको  तीजमा रातो साडीमा आफ्नै हातले तयार गरेका पोतेका माला, औँठी, टप र चुराको सेट लगाएर साथीसँगीसँग रमाइलो गर्ने बताइन् ।  तीज महिलाको विशेष पर्व हो, यसलाई भड्किलोरहित बनाउन पोतेका गहना सेट बनाएर लगाउँदा हराउँछ कि भन्ने त्रास पनि नहुने र खुलेर रमाइलो गर्न पनि पाइने उनले बताइन् । उनले गहना प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनुभन्दा पोतेका विभिन्न गहनाका सेट बनाएर लगाउँदा धेरै राम्रो हुने उल्लेख गरिन्। 

तालिममा सहभागी सदस्य सुनिता खत्रीले एक दिनको तालिमले आफूमा सिर्जनात्मक सीप विकास भएको बताइन् । 'तालिम एक दिनमात्र भयो तर धेरै ज्ञान लिन सक्यौँ, अब सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविश्वास जागेको छ,' उनले भनिन्, 'यो तीजमा पोतेका सामग्री तयार गरेर आफू पनि लगाउँछु र साथीभाइलाई  बेच्ने योजना पनि बनाएकी छु ।' सदस्य खत्रीले यो सीपलाई आत्मनिर्भर हुने माध्यम बनाइउने जानकारी दिइन् ।  

संस्थाकी महासचिव सृष्टि भट्टराईले तीजको समयमा दिदीबहीनीहरुले बढी शृङ्गार मन पराउने र चुरापोतेलगायत गहनाका सेट सामग्रीमा धेरै खर्च हुने भएकाले एक दिन भए पनि गहना बनाउने तालिम प्रदान गरिएको जानकारी दिइन्। उनले भनिन्, 'तीज नजिकिँदै छ, हाम्रो धेरै पैसा यस्तै गहनाहरुमा जान्छ तसर्थ हाम्रै समूहका एकजना सदस्य साथीसँग भएको सीपलाई सदुपयोग गरेर अरू सदस्यका लागि तालिम प्रदान गरेका हौँ ।'

महासचिव भटृराईले महानगरका विभिन्न वडामा यस्ता तालिम निःशुल्क सञ्चालित भए पनि सबैले त्यो अवसर पाउन नसकेका कारण आफ्नै खर्चमा तालिम आयोजना गरिएको जानकारी दिइन् । 'हामीले आफैँ पैसा उठाएर यो तालिम सञ्चालन गरेका हौँ, वडामा जाने प्रक्रिया  झन्झटिलो र समय लाग्ने भएकाले आफ्ना लागि आफैँ खर्च गरेर भए पनि सीप सिक्नुपर्छ भन्ने सोचले सुरुआत गर्यौँ, अन्य तालिमलाई पनि निरन्तरता दिन्छौँ ।' उनले एक सदस्यबाट कच्चापदार्थ किन्न  एक हजार रूपैयाँ संकलन गरिएको जानकारी दिए ।  आधारभूत सीपपश्चात् एडभान्स तहको सीपका लागि युट्युब हेरेर पनि जान्न सकिने उनको भनाइ थियो । 

तालिमका प्रशिक्षक एवम् संस्थाका सदस्य गीता जमकट्टेल पौडेलले आफूले केही वर्षअघि सिकेको सीपलाई आज बुहारी ग्रुपका साथीहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताइन् । उनले हातमा सीप हुँदा आफ्ना लागि पनि हुने र आगामी दिनमा गहना तयार गरेर आत्मनिर्भर हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । प्रशिक्षक पौडेलले मेहनतमा जोड दिन सके निकै आकर्षक र बजारको मागअनुसारको डिजाइनमा गहना तयार गर्न सकिने बताइन् । 'एकदुईसयको कच्चापदार्थले पनि रु एक हजार वा रु पाँच सयसम्मको सामग्री तयार गर्न सकिन्छ । जति नयाँ डिजाइनका लागि मेहनत गर्न सक्यो उति नै बढी मूल्यका गहना तयार हुनाका साथै यो सीपलाई व्यावसायिकीकरण गर्न सके धेरै दिदीबहिनीले रोजगार पाउने र चुरापोतेका लागि विदेशिन धेरै रकम रोक्न सकिन्छ,' उनले भनिन् । 

उक्त संस्थाका अध्यक्ष निर्मला केसी (निरु) ले  बुहारी सशक्तिकरण समाज स्थापनाको छोटो समयमै  धेरै कार्यक्रम गर्न सफल भइएको बताइन् । 'अहिले तीजलाई लक्ष्य गरेर पहिलो चरणमा आफ्नै खर्चबाट एक दिनको गहना बनाउने तालिम ग¥याँै र आवश्यता हेरेर थप सीपमुलुक तालिम प्रदान गर्दै जानेछौँ,' उनले भनिन्, 'बुहारीहरुले भोग्नु परेका समस्या समाधानका लागि सहजीकरण गर्ने साथै आत्मनिर्भर बनाउन आवश्यकता अनुसारको तालिमहरु प्रदान गर्दै सामाजिक क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो समाज स्थापना भएको हो । हिंसा विरुद्धको अभियानसँगै जोसँग जे सीप, ज्ञान वा क्षमता छ त्यो अरूलाई पनि शेयर गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य पनि संस्थाको रहेको छ ।'

अध्यक्ष केसीका अनुसार समूहमा अहिले करिब एक सय सदस्य छन् । सदस्यको चाहनाअनुसार पहिलो चरणमा २५ जनालाई गहना बनाउने तालिम प्रदान गरिएको हो । यसपछि अन्य सदस्यहरुका लागि सेल्फ मेकअप क्लास, नेतृत्व विकास र आवश्यकता अनुसारको सीपमूलक तालिम दिँदै जाने याेजना बनाइएकाे छ । 


प्रतिकृया दिनुहोस