२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

सुन तस्करी प्रकरणकाे थप अनुसन्धान सिआइबीलाई, १७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो

- विशेष खबर आइतबार २१, साउन २०८० १०:४६

सुन तस्करी प्रकरणकाे थप अनुसन्धान सिआइबीलाई, १७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो

काठमाडाैं । सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइएको छ । उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी आज सिआइबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार अब बाँकी सबै अनुसन्धानका काम सिआइबीले गर्नेछ । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । 

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आज १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको हो ।  

१७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो
सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट सिआइबीको हिरासतमा ल्याइएको छ ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि आज साँझ सिआइबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

'आज साँझ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब भोलि सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ,' उनले भने ।

यसअघि विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरिएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् ।  विभागका महानिर्देशक ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिइएको बताए ।  


प्रतिकृया दिनुहोस