२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो, भाटभटेनीका संचालक गुरूङ हिरासतमै

- विशेष खबर मङ्गलबार १२, असार २०८० ११:०१

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो, भाटभटेनीका संचालक गुरूङ हिरासतमै

काठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । 

उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गरेका थिए । 

आज खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित सात जनालाई पक्राउ गरेको थियो । उद्यपि यसअघि नै सर्वाेच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ । 

सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।

आज पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । उक्त घटनाका विषयमा भोलि पत्रकार सम्मेलन गरेर सार्वजनकि गर्ने तयारी सीआईबीले गरेको छ । 

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको  तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।


प्रतिकृया दिनुहोस