२०८० असोज ०४ गते बिहिबार | 21 September, 2023

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

- विशेष खबर शनिबार १३, जेठ २०८० १०:१०

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
फाइल फाेटाे

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट यसअघि नै पारित भइसकेको थियो । राष्ट्रिय सभाको जेठ ९ गते मंगलबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

प्रतिनिधिसभामा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए । प्रधानमन्त्रीले सबै सांसदहरूलाई एकमत भएर नीति तथा कार्यक्रमको पक्षमा उभिन आग्रह गरेका थिए । त्यसपछि सांसदहरूले प्रधानमन्त्रीलाई स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरणका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि नीति तथा कार्यक्रममा दर्ता भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएका थिए ।

सत्तारुढ दलहरू कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतका राजनीतिक दलका संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन फिर्ता लिएका थिए भने प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरूको संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।


प्रतिकृया दिनुहोस