२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

बारा २ उपनिर्वाचन : जसपा अध्यक्ष यादवकोे अग्रता कायमै

- विशेष खबर मङ्गलबार १२, बैशाख २०८० ०९:५६

बारा २ उपनिर्वाचन : जसपा अध्यक्ष यादवकोे अग्रता कायमै

बारा । बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ९ बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन् ।

कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइरहेका छन् । 

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार पाँच सय एक मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ६ सय ८१ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब १३ हजार पाँच सय ९४ मत गणना गर्न बाँकी छ । 

मतगणना भइरहेको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।  

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता  रहेको बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाको ४४ वटा वडा समेटिएको छ । 


प्रतिकृया दिनुहोस