२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

समर्थन फिर्ता लिएर सरकारबाट बाहिरीने एमालेको निर्णय

- विशेष खबर सोमबार १५, फागुन २०७९ १२:५८

समर्थन फिर्ता लिएर सरकारबाट बाहिरीने एमालेको निर्णय

काठमाडौँ — एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो ।  

गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्‍याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाए । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरे । त्यसपछि एमाले सरकारबाट बाहिरिएको हो । सत्ता साझेदार राप्रपा पनि सरकारबाट बाहिरिसकेकाे छ । 


प्रतिकृया दिनुहोस