२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सुदूरपश्चिममा ढल्याे एमाले सरकार, नयाँ मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

- विशेष खबर बिहिबार २६, माघ २०७९ १०:२५

सुदूरपश्चिममा ढल्याे एमाले सरकार, नयाँ मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।


प्रतिकृया दिनुहोस