२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्ति अझै अनिर्णित

- विशेष खबर बुधबार २५, माघ २०७९ १०:१९

सुदूरपश्चिमका मुख्यमन्त्री आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्ति अझै अनिर्णित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

रावललाई समर्थन गरेको सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे प्रष्ट निर्णय लिन नसक्दा मुख्यमन्त्रीले ढिलोगरी विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीको विश्वासको मत लिन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा समेत नाउपाले प्रष्ट निर्णय अझै लिएको छैन भने प्रदेश सभाका ७ जना सांसद काठमाडौंबाट फर्किएका छैनन् ।

पार्टीका संस्थापक रेशम चौधरीलगायतका जेलबन्दीको रिहाइको माग गर्दै आएको नाउपाले माग सम्बोधन नभएका कारण विश्वासको मत दिन नसकिने बताउदै आएको छ तर आधिकारीक निर्णय भने गरिएको छैन् ।

काठमाडौंमा रहेका नाउपा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेश सरकारले आफूहरुका माग मुद्दा सम्बोधनमा उद्दारता देखाएकाले विश्वासको मतबारे यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए  ।

उनले बुधबारको प्रदेशसभा बैठकमा सहभागी हुनेगरी धनगढी फर्किने तयारी रहेको बताउदै संसदीय दलको बैठकबाट प्रदेश सरकारबारे निर्णय लिइने जानकारी दिए ।

मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिएमा सुदूरपश्चिममा उनी नेतृत्वको सरकार संकटमा पर्नेछ ।रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा २७ पुसमा मुख्यमन्त्री भएका थिए ।

नाउपाले मत नदिएको अवस्थामा भने उनी सभामुख बाहेक एमाले, माओवादी र राप्रपाका २१ जना सांसदको मत पाउनेछन् । जुन सरकार टिकाउन आवश्यक पर्ने २७ मा ६ जना प्रदेश सभा सदस्यले कम हो ।


प्रतिकृया दिनुहोस