२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

सुदूरपश्चिममा पुनः मतदानबाट पनि सभामुख चयन हुन सकेन

- विशेष खबर शनिबार ३०, पुष २०७९ ११:००

सुदूरपश्चिममा पुनः मतदानबाट पनि सभामुख चयन हुन सकेन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख चयन गर्न असफल भएको छ । सभामुख चयनका लागि बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक मत ल्याउन नसकेपछि शनिबार पुनः मतदान भएको हो ।

पुनः मतदानमा पनि सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव सभाध्यक्ष शिवराज भट्टले अस्वीकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुुमत जुुट्न नसकेको हो ।

सुदूरपश्चिममा गठबन्धन सम्बद्ध माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ सांसद छन् । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

बिहीबारको मतदानमा ५० जना सहभागी भएका थिए । त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भण्डारीको पक्षमा २६ मत खसेको थियो ।

विपक्षी गठबन्धनका तर्फबाट भने कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् । उनले पहिलो दिनको मतदानमा २३ मत पाएका थिए भने शनिबार भएको मतदानमा २२ मत पाए । विपक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसद छन् ।

सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री र माओवादी केन्द्रलाई सभामुखको बाँडफाँट छ । नागरिक उन्मुक्तिलाई उपसभामुख दिने भनिएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्तिले सभामुख निर्वाचनमा सघाइरहेको छैन ।

शनिबार बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले भने, ‘सहमतिविपरीत मन्त्री नियुक्तिको विरोधस्वरुप बिहीबार सम्पन्न पहिलो दिनको सभामुख चयनको मतदानमा अनुपस्थित भएको हुँ, हामीसँगका सम्झौता कहिल्यै पालना भएनन् । आजको मतदानमा हाम्रा सबै सांसदहरु तटस्थ बस्नेछन् ।’

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनी मुख्यमन्त्री नियुक्त भएकै दोस्रो दिन अर्थात् उनले पद तथा गोपनियताको शपथ लिएकै दिन बिहीबार भएको सभामुख निर्वाचनमा भने सभामुख पदका उम्मेदवाका लागि बहुमत नजुटेपछि शनिबार पुनः मतदान भएको हो । तर, शनिबारको मतदानमा पनि बहुमत नजुटेपछि अनिश्चय झन् बढेको छ ।

सत्तारुढ गठबन्धनका तर्फ उम्मेदवार रहेका भण्डारीको पक्षमा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाको एक सांसदको समर्थन थियो । त्यस अनुसार उनले २९ मत पाउनुपर्थ्यो । आगामी माघ २ गते प्रदेशसभाको अर्को बैठक बोलाइएको छ ।


प्रतिकृया दिनुहोस