२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

सातै प्रदेशमा नयाँ नेतृत्व, यस्ता छन् मुख्यमन्त्री

- विशेष खबर बुधबार २७, पुष २०७९ ०८:३९

सातै प्रदेशमा नयाँ नेतृत्व, यस्ता छन् मुख्यमन्त्री

काठमाडौं । निर्वाचनकाे परिणाम पछि सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका छन् । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो ।

गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

संघ र प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमतलगायतका पार्टीहरूको सरकार बनेको छ । कांग्रेसले केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको बेन्चमा बस्ने घोषणा गरेको छ । प्रदेश सरकारलाई उसले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने निश्चित भएको छैन ।

निर्वाचन पूर्व कांग्रेस र माओवादी लगायत दलहरू एकातिर तथा एमाले र राप्रपा लगायत दलहरू अर्को गठबन्धन भई चुनावमा गएकोमा सरकार गठनमा भने त्यो तालमेल फेरिएको हाे ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । प्रदेश १ मा माओवादीसँग आलोपालो हो कि पाँच वर्ष एकल सरकार एमालेको नेतृत्वमा हुने हो भन्ने सार्वजनिक भएको छैन ।

मधेश  प्रदेशमा जसपाका सरोज यादवले मुख्यमन्त्रीको नियुक्ति पाइसकेका छन् । मधेसमा साढे २ वर्षपछि सिके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री बनाइनेछ ।

वाग्मती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले पाइसकेका छन् । यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेका खगराज अधिकारी भइसकेका छन् । यहाँ एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने भनिएको छ ।

लुम्बिनी मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भइसकेका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीका राजकुमार शर्मा भएका छन् । यहाँ माओवादीले पाँच वर्ष एकल नेतृत्व गर्ने केन्द्रको निर्णय थियो तर त्यसलाई उल्ट्याउँदै एमालेबाट साढे दुई वर्षपछि मुख्यमन्त्री हुने प्रदेशस्तरीय सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । यहाँ पनि साढे २ वर्षपछि माओवादी केन्द्रलाई नेतृत्व छोड्ने सहमति भएको छ ।


प्रतिकृया दिनुहोस