२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

चुनाव प्रचार बिहीबार मध्यरातसम्म मात्रै, के गर्न पाइदैन ?

- विशेष खबर बुधबार ३०, कार्तिक २०७९ ०९:५२

चुनाव प्रचार बिहीबार मध्यरातसम्म मात्रै, के गर्न पाइदैन ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए । 

निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।

निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गरिनेछ ।  

प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन् । निर्वाचन सुरक्षामा २ लाख ९८ हजार म्यादीसहितका सुरक्षाकर्मी परिचालन हुँदै छन् ।


प्रतिकृया दिनुहोस