- रासस बुधबार ३०, कार्तिक २०७९ ०८:५८
डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न देउवा आज गृहजिल्ला आउने भएका छन् ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले बुधबार साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । उनी २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार–प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिए । यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए । सो सभालाई उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत सम्बोधन गरेका थिए ।
बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन् ।
प्रतिकृया दिनुहोस