२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

आज समानुपातिक बन्दसूची पेश गर्दै ठूला दल

- विशेष खबर सोमबार ०३, असोज २०७९ ०९:२५

आज समानुपातिक बन्दसूची पेश गर्दै ठूला दल

काठमाडौं । प्रमुख राजनीतिक दलले आसन्न आमनिर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार बुझाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची पेस गर्ने निर्वाचन आयोगको कार्यतालिका भए पनि नाम टुंगो लगाउन ढिला भएकाले प्रमुख दलहरूले अन्तिम घडीमा मात्र नामावली बुझाउने भएका हुन् । 

राजनीतिक दलहरूले मापदण्ड बनाए पनि आकांक्षी धेरै भएकाले नाम टुंग्याउन कठिन भएको छ । नदोहोरिने गरी समानुपातिकमा बस्न चाहेका ठूला नेतालाई दलहरूले प्राथामिकता दिन खोजेका छन् ।

दलहरूले बढीमा प्रतिनिधिसभातर्फ बढीमा १ सय १० र प्रदेशसभाका लागि २ सय २० जनाको नाम आयोगमा बुझाउनुपर्नेछ । दलहरूले असोज १६ सम्म सूचीमा नाम संशोधन गर्न सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यस पटक २ लाख ५४ हजार ८ सय ४७ मतदाता बढी छन् । शुक्रबार प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार आसन्न आमनिर्वाचनमा १ करोड ७९ लाख ८ हजार ५ सय ७० जनाले मत दिन पाउनेछन् ।

मतदातामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ जना अन्य मतदाता छन् । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए । 

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । समानुपातिकतर्फको सूचीमा खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत हुनुपर्छ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिला हुनुपर्छ ।


प्रतिकृया दिनुहोस