२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

रहेनन् कांग्रेस नेता प्रदीप गिरि

- विशेष खबर शनिबार ०४, भदौ २०७९ १०:३९

रहेनन् कांग्रेस नेता प्रदीप गिरि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षीय नेता गिरिको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको उनको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले बताए। 

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता गिरि लामो समय भारतको मुम्बईमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। स्वास्थ्यमा समस्या भएपछि उनी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

उनले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । राजनीतिक संघर्षका क्रममा उनले पटक पटक गरेर ४ वर्ष जेल जीवन बिताएका थिए । गिरि कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् ।

भारतकाे जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए । 

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका उनी ०५६ काे चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । पटक पटक सांसद बनेका गिरिले मन्त्री भने बन्न चाहेनन् । 

गिरिको पार्थिव शरिरलाई भाेलि बिहान नौ बजेदेखि ११ बजेसम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने र त्यसपछि पार्टी कार्यालय सानेपा लगिने जनाइएकाे छ। पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछि आइतबारै उनको दाहसंस्कार गरिने छ ।


प्रतिकृया दिनुहोस