२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आइतबार २८, बैशाख २०७७ ०१:५७

हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

 

हाल पश्चिमी भूभागहरुमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक भइ पश्चिमी भूभागका केही स्थानका साथै मध्य र पूर्व एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको छ ।

 

सोमबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।


प्रतिकृया दिनुहोस