२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

निर्वाचन आयोगद्वारा साउन ३१ भित्र दल दर्ता आह्वान

- विशेष खबर शनिबार २१, साउन २०७९ ०७:१०

निर्वाचन आयोगद्वारा साउन ३१ भित्र दल दर्ता आह्वान

काठमाडाैं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि दल दर्ता आव्हान गरेको छ।

आयोगका अनुसार २०७९ साउन १९ गते सम्म दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम २०७९ साउन २२ गतेदेखि २०७९ साल साउन ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गराउनु पर्नेछ।

‘राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निवेदनको ढाँचा आयोगको वेब-साइट www.election.gov.np बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।’

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले भनेको छ।

दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले भनेको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ।

दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रूजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्ने छ।

आयोगले दल दर्ता प्रयोजनको लागि सार्वजनिक विदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने जानकारी दिएको छ। 


प्रतिकृया दिनुहोस