२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

पूर्व अर्थमन्त्री शर्मा प्रकरण : संसदीय छानबिन समितिले प्रतिवेदन बुझाउँदै

- विशेष खबर शुक्रबार १३, साउन २०७९ ०८:४०

पूर्व अर्थमन्त्री शर्मा प्रकरण : संसदीय छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडाैं । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ। 

विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनलाई अन्तिमरूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका एक सदस्यले बताए। प्रतिवेदनमा उल्लेखित विषय भने सार्वजनिक गर्न नमिल्ने उनले बताए।

प्रमुख प्रतिपक्षी एमालेले समितिको निष्कर्षमा भने फरक मत राखेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडान राखेका छन् भने सत्ता पक्षका सांसदले प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको बताएका छन्।

गत असार २२ गतेको प्रतिनिधिसभा बैठकमा करका दर हेरफेर भएकाे विवादबारे छानबिन गर्न ११ सदस्यीय छानबिन विशेष समिति गठन गरिएकाे थियाे । समितिमा सांसदहरू खगराज अधिकारी, देवप्रसाद गुरुङ, मानबहादुर विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव थिए।

संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए। समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ।


प्रतिकृया दिनुहोस