२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बजेटमाथिकाे छलफल आजदेखि, एमालेले भण्डाफोर गर्ने

- विशेष खबर मङ्गलबार १७, जेठ २०७९ ०८:०२

बजेटमाथिकाे छलफल आजदेखि, एमालेले भण्डाफोर गर्ने

काठमाडाैं । सरकारले आइतबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएकाे बजेट वक्तव्यमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।

सम्भावित कार्यसूचीकाे पहिलो एजेण्डामा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएकाे छ ।  

सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने जानकारी गराएका थिए । छलफलमा दलीय आधारमा भाग दिन संसदीय दलले नाम टिपाउन पनि सापकोटाले सूचित गरेका थिए ।

यसैबीच प्रतिपक्षी नेकपा एमालेले भने सदनमा प्रस्तुत बजेटको भण्डाफोर गर्ने भएको छ। सोमबार बसेको संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए । 

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ। बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिएका थिए। बैठकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे धारणा राखेका थिए।


प्रतिकृया दिनुहोस