२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

काठमाडाैंमा मेयरका ५२, उममेयरका २७ उम्मेदवारकाे धराैटी जफत

- विशेष खबर शुक्रबार १३, जेठ २०७९ ०७:५६

काठमाडाैंमा मेयरका ५२, उममेयरका २७ उम्मेदवारकाे धराैटी जफत

काठमाडाैं। काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत (धराैटी) जफत भएको छ। उपमेयरतर्फ पनि तीन जनाले मात्र जमानत जोगाएका छन् ।  

निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो। कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ। 

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएका छन् । 

मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको थियो भने १४ जनाले १० भन्दा कम मत पाए। एक सयभन्दा कम मत पाउने ४५ जना छन्। उपमेयर पदमा राप्रपासहित २७ जना उम्मेदवारको जमानत जफत भएको छ।

मेयरका स्वतन्त्र उम्मेदवार शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन् । एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएका छन्।

काठमाडाैंमा  मेयर पदमा खसेको कुल सदर मतको शाहले ३८.६३ प्रतिशत, सिंहकाे २३.९८ प्रतिशत र स्थापितकाे २३.८४ प्रतिशत पाएका हुन् । निर्वाचन आयोगका अनुसार जमानत जोगाउन सफल मेयर उम्मेदवारहरू यी तीन जना मात्र हुन् । 

महानगरमा आँखीझ्याल चुनाव चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत (८.६१ प्रतिशत) पाएका छन् । राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० (३.६१ प्रतिशत) मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ (०.४० प्रतिशत) मत पाएकी छन् ।  

उपमेयरतर्फ एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर निर्वाचित भएकी छन्। उपमेयरमा १ लाख २८ हजार ९ सय ७५ सदर भएको आयोगले जनाएको छ। डंगाेलले सदर मतको ५३.२० प्रतिशत ल्याएकी हुन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाएका छन्। यो सदर मतको १८.४६ प्रतिशत हो।

उपमेयरमै आँखीझ्याल चुनावबाट उठ्नुभएकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले १३ हजार ६ सय ९५ मत ल्याएर जमानत जोगाउन सफल भएकी छन् । राप्रपाकी विनिता मगैयाले १२ हजार १ सय ४१ (९.४१ प्रतिशत), लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५ सय ५५ (५.०८ प्रतिशत) मत पाएकी छन्। 


प्रतिकृया दिनुहोस