२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित

- विशेष खबर बुधबार ०४, जेठ २०७९ ०७:४०

टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित

काठमाडाैं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी निर्वाचित हुनुभएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गरेकाे टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्। अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो ।

यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन् । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरिन् ।

उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख थिइन् । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।


प्रतिकृया दिनुहोस