२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बजेट अधिवेशन आजदेखि, एमालेले के गर्ला ?

- विशेष खबर मङ्गलबार ०३, जेठ २०७९ ०८:१५

बजेट अधिवेशन आजदेखि, एमालेले के गर्ला ?

काठमाडाैं । संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् । 

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा राखिएको छ ।

एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको छ । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको छ । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग छ ।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । यो दिन विरोध गर्ने वा नगर्ने विषयमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा छलफल भए पनि निधाे नभइसकेकाे बताइएको छ ।

जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ । यो प्रस्ताव मंगलबारको बैठकमा राख्न लागिएको छ ।

मंगलबार संसद्को बैठक बस्नुअघि २ बजे सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकबाट पाएको परामर्शका आधारमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल कार्यविधि तय हुनेछ । प्रतिनिधिसभाको नियमावलीको नियम १४२ को उपनियम ४ अनुसार यो छलफल भने राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिनअघि नै सक्नुपर्ने प्रावधान छ । जेठ १५ मा बजेट आउने भएकाले छलफल १५ दिनअघि गर्न सम्भव छैन ।


प्रतिकृया दिनुहोस