२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

पोखरामा गठबन्धनका आचार्य, भरतपुरमा एमालेका सुवेदीको अग्रता

- विशेष खबर सोमबार ०२, जेठ २०७९ ०८:२६

पोखरामा गठबन्धनका आचार्य, भरतपुरमा एमालेका सुवेदीको अग्रता

पाेखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छ ।

गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि छन् भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उनलाई पछ्याएका छन् । 

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भए भने उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याए। 

वडा नं २ मा  कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भए भने उनका प्रतिस्पर्धी  एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे। 

भरतपुरमा एमालेका सुवेदीको अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ३४२ मत प्राप्त गरेका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७१६ मत पाएका छन् । उनका प्रतिस्पर्धी  एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाएकी छन् ।

यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाएका छन् । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ । 


प्रतिकृया दिनुहोस