२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भरतपुरमा सत्ता गठबन्धनकाे चुनावी सभास्थल केन्द्रीय बसपार्क क्षेत्र जलमग्न

- विशेष खबर बिहिबार २२, बैशाख २०७९ ०७:५६

भरतपुरमा सत्ता गठबन्धनकाे चुनावी सभास्थल केन्द्रीय बसपार्क क्षेत्र जलमग्न

चितवन । सत्ता गठबन्धनले बिहीबार संयुक्त चुनावी सभा गर्ने तयारी गरेकाे भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । बुधबार रातीको वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

चुनावी सभाका लागि बुधबार नै तयार पारिएकाे मञ्च पनि डुबानमा परेकाे छ। सभास्थललाई सजाउन राखिएका झण्डा पनि हावाले उडाएर पानीमा डुबेका छन् ।

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै भरतपुर आइसकेका छन् । आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने भनिएको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् । कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । भरतपुर महानगरको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ । 


प्रतिकृया दिनुहोस