२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

उपत्यका छिर्ने सबै नाका सिल गर्न प्रशासनको सुझाव

बुधबार २४, बैशाख २०७७ ०४:५४

उपत्यका छिर्ने सबै नाका सिल गर्न प्रशासनको सुझाव
फाइल तस्बिर

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् ।

बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

यसैगरी सबै प्रवेश नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मीसहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्थासहित क्‍वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव छ ।

काठमाडौंका प्रशासनले नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्ले/मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र साँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धितबाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारिएको छ ।

लकडाउन कार्यान्वयनसम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिने छ । त्यसपछि आवश्यकता र औचित्य हेरेर सीसीएमसीले निर्णय गर्ने उनले बताए ।


प्रतिकृया दिनुहोस