२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

जिल्लामा सहमति, पालिकामा उम्मेदवारले मानेनन्

- विशेष खबर शनिबार १७, बैशाख २०७९ ०८:४१

जिल्लामा सहमति, पालिकामा उम्मेदवारले मानेनन्

जाजरकाेट । सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन् ।

वैशाख १६ सम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो ।

मनोनय फिर्ता नलिएपछि अब एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था आएको छ।

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कंग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनबीच सहमति भएको थियो । तर कांग्रेस, नेकपा माओवादी केन्द्रले पुरै सेटसहित मनोनयन दर्ता गरेका थिए ।

गठबन्धनविरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेपनि त्यसो नहुँदा जिल्लामा टुंगो लागेका स्थानीय तहबाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ । छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ । 

नलगाड नगरपालिकामा सहमतिअनुसार माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो । माओवादीले प्रमुखमा मात्र मनोनयन दर्ता गरेपनि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएपछि सहमति नभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता गरे पनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् ।

वैशाख  १५ मा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सत्ता गठबन्धनका नेताहरुले सहमति गरे पनि उम्मेदवारले नमान्दा सहमति विथोलिएको हो ।


प्रतिकृया दिनुहोस